काठमाडौं - राष्ट्रिय सभाले प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएका हुन् ।
बैठकमा सांसदहरुले शुन्य समय र विशेष समयमा प्रतिनिधि सभा सदस्य शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाउकोप्रति आपत्ति जनाएका थिए ।
सांसदहरुले प्रतिनिधिसभाका सांसद शाहीले राष्ट्रियसभा र सभाका सदस्यको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेका हुन् । मा सांसद गङ्गाकुमारी बेल्वासेले सांसद शाहीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संविधानको धारा, १०३ बमोजिम कारबाही गर्नुपर्ने माग गरिन्।
संविधानको धारा, १०३ को ८ मा ‘कसैले कुनै सदनको अवहेलना गरेमा सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिले सदनको निर्णयबाट सो व्यक्तिलाई सचेत गराउन, नसिहत दिन वा तीन महिनामा नबढ्ने गरी कैद गर्न वा रु १० हजारसम्म जरिवाना गर्न सक्ने र त्यस्तो जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिनेछ’ भनिएको छ ।
सांसद शाहीले गत माघ २८ गते ‘फेसबुक’मा “राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रियसभामा भत्ता खान गएकाले कसैले पनि लाइक, सेयर र सरकारले गरेका गलत गतिविधिको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन्..., भनी पोष्ट गरेका थिए ।
यस्तै सांसद भगवती न्यौपानेले प्रतिनिधिसभाका सांसद शाहीले हद नाघेर राष्ट्रियसभालाई अपमान गरेको उल्लेख गर्दै कारबाहीको माग गरिन् ।
यस्तै सांसद नारायणदत्त भट्टले प्रतिनिधिसभाका सांसद शाहीले राष्ट्रियसभाको अपमान गरेको भन्दै खेद प्रस्ताव पारित गर्न माग गरेका थिए ।सांसद शाहीको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको भन्दै बैठकले खेद प्रकट गरेको छ ।


0 comment