काठमाडौं -  प्रधानमन्त्री ‌केपी शर्मा ओलीले अहिलेकै अवस्थामा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन नसकिने बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको प्रश्नोत्तर कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले अहिलेकै कानुनी व्यवस्थाअनुसार भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन नसकिने बताए।  कसैलाई मृत्यु दण्ड दिँदैमा समस्याको समाधान नहुने उनको भनाइ थियो।

उनले नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइएको पनि बताए।  

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो। कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, उनले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन।’

'नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानून नबनाइने कुरा उल्लेख भएको बताए ।