काठमाडौं - प्रधानमन्त्री केपी ओलीले चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा आइतबार उनले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्ने बताए । उनले पुँजीगत खर्च कम भएको स्वीकार गर्दै उनले पूर्वअर्थमन्त्री वर्षमान पुनलाई तपाईं अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी रहेको भन्दै जवाफ दिए । सरकारमा आएपछि अर्थतन्त्र सुधारका लागि गम्भीर रुपमा काम गरिरहेको उनको भनाइ छ । असारमा धान नरोपेपछि नफल्ने उनको टिप्पणी थियो ।
‘देशको अर्थतन्त्रबारे चिन्ता गर्नु भएकामा यसअघिका अर्थमन्त्रीसमेत रहनु भएका प्रश्नकर्ता माननीयलाई धन्यवाद । ७ महिनाअगाडि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो। त्यस समयभन्दा अगाडि र त्यसयताको मूल्यवृद्धिको अनुपात हेर्न म उहाँलाई अनुरोध गर्दछु । हामीले अब आँकडामा प्रश्नोत्तर गर्ने, त्यसको तुलना गर्ने बानी बसाल्नुपर्छ। तपाईंको अर्को प्रश्न छ- पुँजीगत खर्च भइरहेको छैन । हो, हाम्रो पुँजीगत खर्च कम छ,’ उनले भने, ‘तर माननीयज्यू अर्थमन्त्री भएको अवधिको तुलनामा भने बढी छ। यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको ६ महिनाको पुँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको छ ।’
प्रधानमन्त्री ओलीले कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महसुल भुक्तानी सहज पारिएको बताए । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको र अब उद्योग, व्यापार र स्टार्टअपहरूका लागि राम्रो अवसर रहेको दाबी गरे ।


0 comment