काठमाडौं - गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने दाबी गरेका छन् ।

फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने उनले जनाए । उनले सरकारले जारी गरेको अध्यादेहरु संघीय संसद्‌को दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे ।

उनले अब छिटै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरु सहमत रहेको बताए । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै राजनीतिक दलबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताए ।

सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्नेबारे शनिबार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने गृहमन्त्रीको दाबी छ ।

‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन् । ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ । अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल भएका छन् । मुख्य रुपले अध्यादेश स्वीकृत गर्ने, अध्यादेशलाई अगाडि बढाउनेबारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । सकारात्मक रुपले निष्कर्षमा पुगेको छ,’ उनले भने, ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरु हामी सहमत भएका छौँ । यो प्रक्रिया चाँडै अघि बढ्छ । राष्ट्रिय सभामा पनि बहुमत पुग्नेगरी नै छलफल भएको छ । सबै अध्यादेशलाई प्रतिस्थापन गर्नैपर्छ । अहिले हाम्रा बीचमा जुन अध्यादेशमा सहमति भएको छ, ती अध्यादेशहरु अघि बढ्छन् । भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै आपसमा छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्छौँ ।’

गृहमन्त्री लेखकले संविधान संशोधनका विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए । संविधान संशोधन सबै राजनीतिक दलहरुसँग संवाद, सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।

यो पनि…

सत्ता गठबन्धनको दाबी : अध्यादेश पास गर्न बहुमत पुग्छ