काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशलाई राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको अभियानमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएका छन् ।
गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरुको सालिक अनावरण कार्यक्रममा उनले जनयुद्ध र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गरे । अध्यक्ष दाहालले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने पनि बताए ।
‘एकथरीले मुलुकमा केही भएका छैन भन्ने गरेका छन् त्यसो होइन, गणतन्त्र स्थापनापछि धेरै क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको छ,’ उनले भने, ‘तर, जनताको उत्पादन क्षमतामा वृद्धि नहुँदा जनताले महसुस गर्ने गरी परिवर्तनको अनुभूति गर्न सकिरहेका छैनन् । अब हामी सिंगो मुलुकलाई एकताबद्ध गरेर राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा अघि बढाउनुपर्ने बेला आएको छ ।’
हजारौं युवा विदेश जाने र रेमिट्यान्सबाट देश चलाउने अवस्था रहेको उल्लेख गर्दै उनले देशभित्रै रोजगारी सृष्टि गरेर विदेश जान बाध्य युवाहरुलाई पुनः स्वदेश नै फर्काउने गरी सबै तहका सरकारले योजना बनाउनुपर्ने धारणा राखे । उनले त्यसमा पनि मूलतः कृषि उत्पादन वृद्धिका लागि स्थानीय सरकारहरुले योजनाबद्ध पहल थाल्नुपर्ने बताए । ‘हामी जति जतिसक्दो धेरै उत्पादन वृद्धि गरी रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न चाहन्छौं,’ उनले भने, ‘अब हामीले राजनीतिक रुपमा पनि समाजवादउन्मुख अर्थतन्त्रको निर्माणमा जोड दिन चाहेका छौं । हिजो जसरी राजनीतिक क्रान्तिलाई अभियानकै रुपमा अघि बढाउँदा सफलता प्राप्त भयो, अब त्यसरी नै आत्मनिर्भर अर्थतन्त्रको विकासलाई अभियानकै रुपमा बढाउनुपर्ने बेला आएको छ ।’
स्थानीय तहबाट उत्पादन वृद्धिका कार्यक्रम सुरु गर्ने गरी पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको राजनीतिक प्रतिवेदनमै स्थानीय विशेषतामा आधारित उत्पादन वृद्धिका कार्यक्रममार्फत राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकासलाई जोड दिएको बताए । ‘हामीले ५० वर्षअघि खाद्यान्न निर्यात गर्थ्यौं तर अहिले आयातमा गर्ने अवस्थामा पुगेका छौं,’ उनले भने, ‘आफ्नो खेतबारी बाझो छाडेर विदेश जाने प्रवृत्ति बढ्दै गएको छ । यसको मुख्य कारण उत्पादन वृद्धिमा राज्यको योजनाबद्ध पहल नहुनु नै हो । अब हामी फेरि आत्मनिर्भरताको अभियानमा केन्द्रित हुनुपर्ने बेला आएको छ । खाद्यान्न आयात होइन निर्यात गर्ने दिन फर्काउनुपर्ने बेला आएको छ ।’
कृषि र कृषिजन्य उत्पादनसँगै शिक्षा क्षेत्रलाई देशमा आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकतामा पनि उनले जोड दिए । हामीकहाँ केही पनि छैन भनेर नयाँ पुस्तालाई अध्ययनदेखि रोजगारीमा समेत विदेश जानुपर्छ भन्ने परनिर्भर मानसिकताको विकास गराउन थालिकामा चिन्ता व्यक्त गर्दै उनले आफ्नै माटोको उत्पादनलाई जोड दिने देशभक्तिपूर्ण भावनाको विकासका लागि पनि शिक्षा क्षेत्रले ध्यान दिनुपर्ने बताए ।
अमेरिकाले थालेको आप्रवासी निष्कासन कार्यक्रम, मध्यपूर्वमा देखिएका तनाव आदिका कारण कुनै बेला हजारौं नेपाली वैदेशिक रोजगारी छाडेर नेपाल फर्कने अवस्था आउनसक्ने आकलन गर्दै अध्यक्ष दाहालले त्यसका लागि समेत हामी तयारी अवस्थामा बस्न आवश्यक रहेको बताए ।
आफू प्रधानमन्त्री भएका बेलामा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग र उत्तरदक्षिण कोरिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै यी परियोजनाबाट गुल्मीलगायत जिल्ला लाभान्वित हुन थालेको उनले बताए । आफू पछिल्लोपटक प्रधानमन्त्री हुँदा सालझन्डी-ढोरपाटन सडकमा पनि राम्रो बजेट छुट्याएको स्मरण गराउँदै उनले सबै गाउँपालिका केन्द्र जोड्ने सडकका लागि पनि आफूले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए ।
‘प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्छ’
अध्यक्ष दाहालले बिहीबारै गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका थिए । कार्यक्रममा उनले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिए ।
उनले सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गर्न लागेकामा आपत्ति जनाए । यो रकम बढाउनुपर्नेमा घटाउनु सरकारको उल्टो बाटो भएको टिप्पणी गर्दै उनले अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको उल्लेख गर्दै अध्यक्ष दाहालले सुविधा-सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा जोड दिए । विकास निर्माणका कार्यहरुमा सबै दल एकै ठाउँ बस्नुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहहरुमा यो काम अझ महत्त्वपूर्ण रहेको र गुल्मीमा यसको राम्रो अभ्यास देख्दा खुसी लागेको बताए ।


0 comment