काठमाडौं -  राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ नहुने बताएका छन्।

नातिकाजी स्मृति समाजद्वारा बुधबार आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताए ।
 
राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताए ।
 
राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताए ।
 
त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उनले राष्ट्रभक्तिका कालजयी गीतहरू गाउनु भएको बताए ।
 
समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिए।
 
नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा सङ्गीत दिएका छन् । साथै उनले २२ वटा जति गीतिनाटकमा सङ्गीत दिएका छन् ।