काठमाडौं - पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता खादा लगाउँदै कांग्रेसको साधारण सदस्यता समेत हस्तान्तरण गरे ।

त्यस क्रममा कांग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिए ।

पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्याङ्कन गरेर अवसरको बाँडफाँट गर्ने देउवाले बताए ।पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले सङ्गठनलाई बलियो बनाउन आग्रह समेत गरे ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता तथा कार्यकर्ताहरू छन् ।

रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गरेका थिए  ।