काठमाडौं - विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ ।
सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको मङ्गलबार घोषणा गरेको हो।
यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ ।
“पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधिहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ ।
डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ ।
“धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच थिएन”, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भने ।
प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ । यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गरिएको र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
डब्लुएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ ।
प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो ।
यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बीचको संयुक्त उद्यम हो ।
गैर- नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लुएचओले जनाएको छ । - रासस / एएफपी



0 comment