काठमाडौं - नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा सूचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम ३६६ दिने मुद्दतीका रुपमा लगानी गर्न प्रस्ताव आह्वान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाइ छ ।

रकम लगानीको अवधि २०८१ फागुन ६ देखि २०८२ फागुन ६ गतेसम्म रहनेछ । रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले यही माघ २८ गते सोमबार लगानी गर्न चाहेको रकम र दिन चाहेको ब्याजसमेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याइएको कुल रकममध्ये वाणिज्य बैंकहरुका लागि २० करोड, विकास बैंकहरुका लागि तीन करोड ७५ लाख र फाइनान्स कम्पनीहरुका लागि एक करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

रकम लगानीको बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सीमाभित्र रहेको हुनुपर्नेलगायत प्रावधान तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।