काठमाडौं - नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि निरन्तरता पाएको छ ।

अघिल्लो दिन ६९ दशमलव ८० अंकले बढेको नेप्से आज दुई दशमलव ४१ अंकले बढेर २७ सय ३० अंकमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले बढेर चार सय ५९ दशमलव ६१ अंकमा पुगेको छ । नेप्सेमा आज ३१९ कम्पनीको कारोबारमा एक लाख ११ हजार नौ सय १८ पटकको कारोबार भएको थियो । जसमा दुई करोड ३७ लाख ७० हजार तीन सय ४८ कित्ता सेयर खरिद-बिक्री भए । योसँगै कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पाँच सय ३८ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकोमा ६ समूहको सूचक घटेर बाँकी समूहको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४२ अंकले बढेर १३ सय ७० दशमलव ४० अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ८९ दशमलव ३० अंकले बढेर १३ हजार दुई सय ६१ दशमलव ७४ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक पनि एक सय आठ दशमलव ८४ अंकले बढेर १३ हजार दुई सय ३१ दशमलव ६८ अंकमा पुगेको छ ।

यसैगरी उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समूहको सूचक पनि क्रमशः २० दशमलव शून्य पाँच, पाँच दशमलव ५८, शून्य दशमलव १५ र ३५ दशमलव २७ अंकले बढेका छन् ।

विकास बैंक समूहको सूचक भने २३ दशमलव ७६ अंकले घटेर ६ हजार २५ दशमलव ५० अंकमा झरेको छ । फाइनान्स समूहको सूचक पनि २८ दशमलव १० अंकले घटेर २५ सय ८० दशमलव शून्य पाँच अंकमा पुगेको छ ।

यसैगरी जलविद्युत् समूहको सूचक १८ दशमलव ८१ अंकले घटेर तीन हजार आठ सय ३० दशमलव ४२ अंकमा झरेकामा होटेल तथा पर्यटन, लगानी र अन्य समूहको सूचक पनि क्रमशः शून्य दशमलव ८८, शून्य दशमलव ५० र १३ दशमलव शून्य एक अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड परेको छ ।