काठमाडौं- मुलुकभर अहिले भाइरल ज्वरोका बिरामी बढेका छन् । वातावरणमा परिवर्तन आउने क्रममा विभिन्न भाइरस सक्रिय हुने भएकाले मौसम परिवर्तन हुने समयमा भाइरल ज्वरोको जोखिम पनि उच्च हुन्छ ।
कुनै पनि ब्याक्टेरिया या भाइरसको आक्रमणलाई शरीरले प्रतिरक्षा गर्दा ज्वरो आउने गर्छ । त्यसैले पनि भनिन्छ ज्वरो आफैँमा एउटा रोग नभई यो अन्य रोगको लक्षण पनि हुन सक्छ ।
भाइरल ज्वरो आउँदा शरीरको कुनै एक भागमा मात्रै असर गर्दैन । रगतको माध्यमबाट भाइरस शरीरमा फैलिने हुँदा यसको असर शरीरको सबै भागमा हुन्छ ।
भाइरल ज्वरो आएमा पूरै शरीरमा दुखाइ महसुस हुने, टाउको दुख्ने, मांशपेशी दुख्ने, कमजोर महसुस हुनेजस्ता लक्षण देखिने हुन्छ । ज्वरोसँगै खोकी पनि लाग्ने गर्छ । ज्वरो र खोकीले गर्दा शरीरलाई असहज बनाउने गर्छ । भाइरल ज्वरो समान्यत: एक साता/दश दिनमा निको हुन्छ । यदि यो समयमा ज्वरो निको हुन सकेन वा खोकी लागिरह्यो भने घरमा नबसी स्वास्थ्य संस्था गई चिकित्सकसँग परामर्श लिनुका साथै झोलिलो खाना खानुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी, गर्भवती, वृद्धावृद्धा, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरुले झन हेलचेक्र्याईं गर्न नहुने सुझाव डा. पुनको छ । प्रस्तुत छ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग सक्रिय न्युजका लागि दिलमन्यु सिल्वालले गरेको कुराकानी :

भाइरल ज्वरो भनेको के हो ? यो कस्तो अवस्थामा आउँछ ?
ज्वरोले गर्दा शरीरमा सहज नभएको अवस्था र लामो समयसम्म निरन्तर ज्वरो भइरह्यो भने बिरामी उपचारका लागि आउने गर्छन् । एक-दुई दिनमा ज्वरो निको भए अधिकांश बिरामी अस्पताल नआउने गरेको पाइँदैन

अहिले भाइरल ज्वरोका बिरामी किन बढ्दै छन् ?
भाइरल ज्वरो भन्नाले यहाँ फ्लुको भाइरसलाई संकेत गर्न खोजिएको हो । र यो बेलामा बढ्ने नै गर्छ । त्यही भएर यसलाई हामी मौसमी फ्लु पनि भन्ने गर्छौं । समग्रमा भन्नु पर्दा यो समय नै हाम्रा लागि अनुमानित हो भन्दा पनि फरक नपर्ला ।

भाइरल ज्वरो आएमा वा आइसकेपछि के गर्ने/के नगर्ने ?
सामान्यत: यो आफैं निको भएर जान्छ । खासगरी एक साता/१० दिनमा । तर, कतिपयलाई भने अलि अफ्ठ्यारो हुन सक्छ । यदि केही गरी निरन्तर खोकी लाग्यो र ज्वरो कम भएन भने अस्पताल पुग्नुपर्‍यो चिकित्सकसँग परामर्श लिनका लागि । होइन भने घरमा झोलिलो खानेकुराहरु खाएर, आराम गरेर पनि हामीले आफूलाई स्वास्थ्योन्मुख गर्न सक्छौं ।

यो भाइरल ज्वरो आएको कति समयमा निको हुन्छ ?
सामान्यत: एक साता/१० दिनमा ज्वरो निको हुन्छ । कतिपयलाई ३/४ दिनमै पनि निको हुन सक्छ । कतिपयलाई त एक साता/दश दिन नै लाग्छ । तर यो धेरै लम्बियो भने तपाईं हामी घरमै बस्नु हुँदैन । तत्काल चिकित्सकको परामर्शमा पुग्नुपर्छ भन्न चाहन्छु ।

यसका लक्षणहरु र बच्ने उपायहरु के-के हुन् ?
धेरैजसोले खोकी लाग्यो भन्नुहुन्छ । जिउ दुख्ने, ज्वरो आउने । खान मन नलाग्नु नै यसका प्रमुख लक्षणहरु रहेका छन् ।
यसका लागि देखिएका लक्षणहरु कम गर्नका लागि औषधि त खान सक्छौं । यदि लम्बियो भने घरमै बसेर हेलचेक्र्याइँ गर्नु हुँदैन । सकेसम्म चाँडो चिकित्सकको परामर्शमा जानु उपयुक्त हुन्छ ।

अस्पतालमा भाइरल ज्वरोका बिरामीहरु कति छन् ?
यो संख्यामा भन्दा पनि नियमित ओपीडीमा बढी बिरामीहरु आउने गर्नुहुन्छ । किनभने रुघाखोकी भन्नेवित्तिकै सबैजना अस्पताल त आउँदैनन् । तर लामो समयसम्म खोकी लागिरह्‍यो र ज्वरो कम भएन भने अस्पताल पुग्नै पर्छ । उसो त अहिले ज्वरो र खोकीका बिरामी घरघरै छन् ।

अन्त्यमा थप केही छ कि ?
दीर्घरोगी, ज्येष्ठ नागरिक, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, गर्भवती, बालबालिकाहरु हुनुहुन्छ भने कम्तिमा पनि एकपटक स्वास्थ्यकर्मीसँग सरसल्लाह लिनुहोला । यसो गरे अझ जटिल अवस्थामा जानसक्ने सम्भावनालाई रोक्न सकिन्छ । कसैलाई श्वासप्रश्वासमा कठिनाइ भइरहेको छ, निरन्तर खोकी लागिरहेको छ र छाती दुखिरहेको छ भने घरमा नबस्नुहोला । यो बेलामा म २/४ दिन बस्छु भनेर हेलचेक्रयाइँ गरे स्वास्थ्यमा जटिल अवस्था सिर्जना हुन सक्छ ।