काठमाडौं - बैंकिङ क्षेत्रमा खराब अर्थात् निष्क्रिय कर्जा बढेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी पछिल्लो अर्थात् यही मंसिर मसान्तसम्मको प्रतिवेदनअनुसार औसत निष्क्रिय कर्जा बढेर चार दशमलव ६८ प्रतिशत पुगेको हो ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ६६ खर्ब ८० अर्ब ९४ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ खर्ब २४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको देखिएको छ ।
 
राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

वाणिज्य बैंकहरुले मात्र चालु आवको पछिल्लो अवधिमा ५९ खर्ब ४० अर्ब ८९ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब १२ अर्ब ५१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

विकास बैंकहरुले भने चालु आवको मंसिर मसान्तसम्ममा ६ खर्ब पाँच अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब १० अर्ब ५१ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा चार दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा विकास बैंकहरुले पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा तीन दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले पनि चालु आवको मंसिर मसान्तसम्ममा कुल एक खर्ब ३४ अर्ब २६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा नौं दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा आठ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।