काठमाडौं - स्पेन अधिराज्यका लागि नेपालका आवासीय राजदूत एवं माल्टाका लागि गैरआवासीय राजदूत शनिल नेपालले स्पेन पुगेर पदभार ग्रहण गरेका छन् ।

आफ्नो कार्यभार सम्हाल्न हिजो (माघ ७ गते) नेपालबाट सपरिवार स्पेन पुगेका नेपालले हिजै स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासमा पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनलाई म्याड्रिडस्थित विमानस्थलमा दूतावासका कार्यवाहक राजदूतसहितका कर्मचारीहरूले स्वागत गरेका थिए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर २८ गते राजदूतमा नियुक्त गरेका थिए ।

सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि गत भदौ २७ गते संसदीय सुनवाइ भई संसदीय समितिबाट उनको नाम अनुमोदन भएको थियो । यसअघि उनलाई २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।

तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कूटनीति, राजनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा योगदान गरेका राजदूत नेपालले यसअघि दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरूका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् । उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षालगायत क्षेत्रमा लाभ पुर्‍याउने उपाय खोज्ने बताएका छन् । उनले आफूलाई राजदूतको जिम्मेवारी दिएको नेपाल सरकार र पटक-पटक सहयोग, सल्लाह र शुभेच्छुक प्रदान गरेका सबैप्रति आभार पनि व्यक्त गरेका छन् । उनलाई सरकारले अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ। माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो । उनले माल्टामा रहेका नेपाली र माल्टा सरकारसँग उत्तिकै उच्च प्राथमिकताका साथ सहजीकरणको जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर राजदूत नेपाललाई पठाएकामा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन् । माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम बढेको छ ।