नेपाल मेडिकल कलेज (एनएमसी) मा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल (बिग्रिएर) भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे तर्फको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।
एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साताअघि अत्याधिक दुखाइ भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे तर्फको मिर्गौलामा पत्थरी देखिएको थियो ।
त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्ण रुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट युरोसर्जन डा. वेश अन्सारीले बताए । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ,’ उनले भने ।
मिर्गौला पूर्ण रुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा. अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेस्रो दिन आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
ल्याप्रोस्कोपी प्रविधिको अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसनभन्दा प्रभावकारी हुने गर्छ । यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसनपछि बिरामी चाँडै तंग्रिने हुन्छन् । ‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसनभन्दा प्रभावकारी छ । शरीरमा स-साना प्वालहरू पारेर अप्रेसन गरिन्छ । ठुल्ठुलो घाउ पार्नु पर्दैन, रक्तश्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन । लामो समय पेनकिलर सेवन गर्नु पर्दैन,’ डा. अन्सारीको दाबी छ ।
डा. अन्सारीका अनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ । त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्राशयको समस्या, पाठेघरको अप्रेसनलगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ ।



0 comment