काठमाडौं - हेटौँडा उपमहानगरपालिका- ६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाखमा ड्रेन सहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिट सहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य- सचिव दीपक लामाले जानकारी दिए ।
क्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपिआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको छ । क्रिकेट मैदान निर्माणका लागि नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।
हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उनले बताए । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने छ ।
क्रिकेट ग्राण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने अवलोकनमा पुगेका नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताएका छन् ।



0 comment