काठमाडौं - नेपाल औषधि व्यवसायी संघले सरकारले माग सम्बोधन नगरे बैशाख १ देखि सबै प्रकारका औषधि आयात ठप्प पार्ने चेतावनी दिएको छ । आयातकर्ताले औषधि व्यवस्था विभागमा दिइने निवेदनमा उल्लेख गरिने प्रतिबद्ध मूल्य हटाउनुपर्ने माग राख्दै संघ आन्दोलनमा छ ।
सरकारले माग सम्बोधन नगरे जीवन रक्षक, आइसीयू, सीसीयूमा प्रयोग हुने औषधिलगायत सबै औषधि समेत आयात नगर्ने संघले जनाएको छ । प्रतिवद्ध मुल्य लेख्नुपर्ने कुनै कानुनी बाध्यता नभएपनि विभागले बाध्यकारी बनाएको औषधि व्यवसायी संघले जनाएको छ । प्रतिबद्ध मूल्य सम्बन्धित औषधिको तत्कालिन मूल्य भएको र सो मूल्यमा सम्बन्धित देशको उत्पादक कम्पनीले उत्पादन लागतमा भएको परिवर्तन र सो देशको मुद्रास्फिती दरलाई समायोजन गरी कम्तिमा वार्षिक रुपमा अधिकतम खुद्रा मूल्यको निर्धारण पुनरावलोकन हुने गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले औषधि व्यवसायीका माग सम्बोधन नभए बैशाख १ देखि औषधि आयात नगर्ने निर्णय गरिएको बताए । उनले भने, 'औषधि आयातका लागि पैठारी सिफारिस पत्र लिनुपर्छ । त्यो पैठारी सिफारिस पत्रमा औषधि नविकरण गर्दा मुल्य राख्नुपर्छ । '१०/१२ वर्षदेखि औषधि नविकरण गर्दा मूल्य पुनरावलोकन भएको छैन । औषधि नविकरण गर्दा उत्पादनकर्ताले तोकेको एमआरपी राख्ने चलन छ । अहिलेसम्म पनि मूल्य पुनरावलोकन भएन । जसकारण औषधि झिकाउन समस्या भयो । नविकरण गर्दा कन्ट्री अफ ओरिजीन हुनुपर्यो भन्ने माग हो,' उनले भने।
हाल नेपालमा करिब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुने गरेका छन् । आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गन पाउनुपर्ने औषधि व्यवसायीहरुको माग छ । संघले पटकपटक स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागका महानिर्देशकलाई एमआरपीलाई समायोजन गर्न वैज्ञानिक प्रकृया अवलम्बनका लागि आग्रह गर्दै आएको छ ।संघले गत माघ १४ मा औषधि व्यवस्था विभाग समक्ष २५ बुँदे संस्थागत राय सुझाव बुझाएको थियो ।
0 comment