काठमाडौं - जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसी लगायतको कारोबार भएको छ ।
चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगा भैँसीको बिक्रीवितरण भएको जानकारी दिनुभयो ।
शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन् ।
वि. सं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा, खसीबोका मात्रै बिक्री वितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायत साना बजारमा समेत भेडा, खसी लगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।
0 comment