काठमाडौं - आणविक बमबाट बचेका जापानी समूह निहोन हिडान्क्योले सन् २०२४ को नोबेल शान्ति पुरस्कार जितेको छ ।

सन् १९४५ मा हिरोशिमा र नागासाकीमा भएको बम विष्फोटमा बाँचेकाहरुलाई नर्वेको नोबेल कमिटीले विश्वलाई आणविक हतियारबाट मुक्त गराउने प्रयासका लागि मान्यता दिएको छ ।

नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले समूहले आणविक निषेध स्थापनामा ठूलो योगदान पुर्याएको बताएका छन्।

फ्राइडनेसले आणविक हतियारको प्रयोग फेरि कहिल्यै नहोस् भनेर सो समूहले साक्षीको रुपमा आफ्नो अनुभवको बयान गरेकोमा प्रशंसा समेत गरेका छन् ।

सन् १९५६ मा स्थापना भएको यस संस्थाले आणविक हतियारको प्रयोगले पुर्याएको नृशंस क्षति र पीडाबारे आफ्ना बयानहरू बाँड्न विश्वभरबाट बाँचेकाहरूलाई पठाउने गरेको आफ्नो वेबसाइटमा उल्लेख छ।

हिरोशिमा र नागासाकीको विनाशको लगभग एक दशकपछि सो समुहले काम सुरु गरेको थियो  ।  

सन् १९४५ अगष्ट ६ मा एक अमेरिकी बम वर्षक विमानले हिरोशिमा शहरमाथि युरेनियम बम खसाल्दा करिब १ लाख ४० हजार मानिसको ज्यान गएको थियो ।

त्यसको तीन दिनपछि नागासाकीमा दोस्रो आणविक हतियार खसालियो  र त्यसको केही समयपछि नै सम्राट हिरोहितोले घोषणा गरेको जापानको आत्मसमर्पणले दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

वैज्ञानिक तथा पुरस्कार निर्माता अल्फ्रेड नोबेलको निधनको वार्षिकोत्सवको अवसरमा डिसेम्बरमा ओस्लोमा आयोजना हुने एक समारोहमा यो पुरस्कार प्रदान गरिनेछ ।

सन् २००५ मा नर्वेजियन नोबेल कमिटीले विशेष उल्लेख गरेको यस समूहलाई यसअघि पनि नोबेल शान्ति पुरस्कारका लागि धेरै पटक  मनोनित गरिएको यसको वेबसाइटमा उल्लेख छ ।