काठमाडौं - परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । 

अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र  नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

आजबाट सुरु भएको सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनिवार्य रुपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरुवात गर्नु राम्रो पक्ष रहेको बताउनुभयो ।

मनोस्वास्थ्य ओपिडीले गर्भवती तथा महिलालाई सहयोग पुर्‍याउनेछ। नवजात शिशुहरूको परीक्षण सेवा पनि अत्यावश्यक सेवा भएकाले मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पार्नुभयो ।

अस्पतालका निर्देशक डा निर्देशक श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपिडी सेवा सुरु गरिएको बताउनुभयो ।

डा अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउनका लागि सेवा सुरु गरिएको बताउनुभयो । 

अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुहरूमा यो परीक्षण गरिसकेको जनाएको छ ।