काठमाडौं - बाँकेको डुडुवा स्थित जयेन्दु बाल सुधारगृहमा झडप हुँदा ६ जना बालबन्दी घाइते भएका छन् भने ५० भन्दा बढी बालबन्दीलाई प्रहरी नियन्त्रणमा लिएको छ। सुधारगृहमा रहेका दुई समूहबीच झडप हुँदा त्यहाँ तनाव उत्पन्न भएको छ।

झडपको क्रममा बालसुधार गृहको दोस्रो तल्लामा आगजनी गरिएको थियो। आगजनीबाट भवनका सामान जलेर नष्ट भएको छ । 

बालबन्दीहरूले  ढुंगा प्रहारबाट  केही प्रहरीहरू पनि घाइते भएका छन्।  ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली सुधारगृहमा प्रवेश गरेर उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए ।

 पक्राउ गरिएका ५० भन्दा बढी बालबन्दीलाई प्रहरी नियन्त्रणमा राखिएको छ, र केही बालबन्दी भाग्न सफल भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। झडपको कारण खुल्न सकेको छैन । त्यस सुधारगृहमा हाल २५० बालबन्दी रहेका छन् । यहाँ पटक–पटक झडपको घटना हुने गरेको प्रहरीले बताएको छ।