काठमाडौं - धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८.९३ अङ्कले ओरालो लागेर दुई हजार ४ सय ७०.३९ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ९.५२ अङ्कले ओरालो लागेर ४ सय ४४.८८ मा सिमित भएको छ । 

कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल १ करोड ५५ लाख ४ हजार ९ सय २९ कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त ८.८१, अप्पर स्याङ्गे हाइड्रोपावर ७.८३, एनआइबिएल ग्रोथ फन्ड ४.८५, इन्ग्वा हाइड्रोपावर ४.१४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ४.०८ प्रतिशतले कमाएका छन् ।

हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स ८.७४, बुद्धभूमि नेपाल हाइड्रोपावर ७.९६, श्वेतगङ्गा हाइड्रोपावर ७.६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले ७.५५ प्रतिशतले गुमाएका छन् ।