रूपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् ।
आर्थिक वर्ष २०७९- ८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा कृषि तथा वनजन्य गरी दुई सय १७ वटा उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
सोही आर्थिक वर्षमा कृषि तथा वनजन्य ४१९, उत्पादनमूलक २८१, सेवामूलक २४४ र पर्यटन उद्योग १८६ वटा गरी एक हजार १३० वटा उद्योग दर्ता भएको थिए ।
कार्यालय प्रमुख लोककुमार कार्कीले आर्थिक वर्ष २०७९- ८० को तुलनामा आव २०८०- ८१ मा उद्योग दर्ताको सङ्ख्या घटेको र उद्योग बन्द गर्नेको सङ्ख्या बढेको बताउनुभयो ।
आर्थिक वर्ष २०७९- ८० मा एक हजार १३० वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षमा ८३७ वटा उद्योग मात्रै दर्ता भए । जबकि आर्थिक वर्ष २०७९- ८० मा २१७ उद्योग बन्द भएकामा आव २०८०- ८१ मा ३५४ वटा उद्योग बन्द भएका छन् ।
उद्योग बन्द हुने क्रम भने अहिले पनि रोकिएको छैन । चालु आवको दुई महिनामै १०८ वटा उद्योग बन्द भएका छन् । साउनमा ९१ उद्योग दर्ता हुँदा ४१ बन्द भएका र भदौमा १७३ उद्योग दर्ता हुँदा ६७ वटा बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख कार्कीले बताउनुभयो ।
आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो ।


0 comment