काठमाडौं - तनहुँको आँबुखैरेनी गाउँपालिका- १ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ ।
तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो ।
स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ । एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवेयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ ।
विद्यार्थी गेटबाट भित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो ।
आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने उहाँले बताउनुभयो। विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएकोले कक्षा छोडेर जाने सम्भावना हुँदैन।
0 comment