काठमाडौं - श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब ७ हजार कन्यालाई पुजिँदै छ।
प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई) लाई हरेक वर्ष आजको दिन पुजिँदै आइएको छ ।
आज मध्यान्हबाट सुरु गरिने पूजामा बनेपाका करिब सात हजार कन्या पुजिने सनातन कन्या- पूजा प्रबन्ध समितिले जनाएको छ । यस्तै केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा पनि कन्या पूजालाई निरन्तरता दिन थालिएको छ ।
कन्या–पूजा बनेपा नगरको पुरानो बजारमा विसं १९५९ देखि वर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गर्दै आइएको हो ।
बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटो सम्म सडकको दायाँबायाँ पेटीमा कन्या लस्करै बस्छन् । कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् ।
समितिका सदस्य प्रकाश कायस्थले कन्यापूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाई वितरण गर्ने बताउनुभयो ।
पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल दलेर देवी सरह रातो टीका लगाइदिने प्रचलन छ ।
रजस्वला नभएका तथा बेल- विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ ।
यस मान्यताका साथ पछिल्ला वर्षदेखि काभ्रेको नाला, पनौती, साँगा, दोलालघाट लगायत विभिन्न बजार तथा बस्तीमा कन्यालाई श्रीकृष्ण जन्माष्टमीको दिन पुज्दै आइएको हो ।
0 comment