काठमाडौं - सरकारले आजबाट टिकटक प्रतिबन्ध हटाउने भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही सर्तहरू सहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेर बुधबार मन्त्रिपरिषद्मा पठाएको छ।
बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई अनुमोदन गरे टिकटकमाथिको प्रतिबन्ध औपचारिक रूपमा हट्ने अपेक्षा गरिएको छ।
सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै गत वर्ष नोभेम्बर दोस्रो साता नेपालमा टिकटक प्रतिबन्ध लगाएको थियो।
सरकारले प्रतिबन्ध लगाएको भए पनि भीपीएन प्रयोग गरेर कतिपय प्रयोगकर्ताहरूले टिकटक चलाउँदै आएका थिए ।
नेपाल टेलिकम तथा एनसेल जस्ता ठूला दूरसञ्चार कम्पनीको नेटवर्कमा नचलेपनि केही इन्टरनेट सेवा प्रदायक (आईएसपी) को नेटवर्कमा सरकारले प्रतिबन्ध हटाउनु अगावै चल्न थालेको प्रयोगकर्ताहरूले बताएका छन्।
अब टिकटक चलाउँदा नेपालको शैक्षिक, सामाजिक जागरण तथा जनचेतनामूलक सामग्रीलाई प्राथमिकता दिनुपर्ने र त्यसका लागि समुदायमा सचेतना कार्यक्रम चलाउनुपर्ने सर्त राखिएको सञ्चार मन्त्रालयका एक कर्मचारीले बताउनुभयो ।
0 comment