काठमाडौं - साताको सेयर कारोबारको अन्तिम दिन बिहिबार आज सेयर बजार परिसुचक नेप्से ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ०.२१ अंकले बढेर ४८३.६८ विन्दुमा पुगेको छ । 

आज ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार १ सय ३ रुपैयाँमा खरीदबिक्री भयो ।

आज ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्णाली डेभलमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मीड सोलु हाइड्रोपावर, सोनापुर र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधरमा आज शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। शिवम् सिमेन्टको आज १ अर्ब २० करोड ९० लाख बढीको सेयर कारोबार भयो। त्यसैगरी, हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड, नेपाल इन्फ्रास्टक्चर बैंकको ९२ करोड, सोनापुरको ४५ करोड र सानिमा माइ हाइड्रोपावरको ४२ करोड मूल्य बढीको सेयर कारोबार भयो।

आज कारोबारमा आएका ६ समूहको उपसूचक बढ्दा ७ समूहको उपसूचक ओरालो लाग्यो । म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक सर्वाधिक ५.८७ प्रतिशतले उकालो लाग्दा इन्भेष्टमेन्ट समुहको उपसुचक १ प्रतिशत बढीले बढ्यो । हाइड्रोपावर, म्युच्युअल फण्ड, नन लाईफ इन्स्युरेन्स र ट्रेडिङ समुहको उपसुचक भने सामान्य उकालो लाग्यो । होटेल समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्दा बाँकी समुहको उपसुचक सामान्य ओरालो लाग्यो ।