काठमाडौं  - अघिल्लो दिन १४५ अंकले घटेको सेयर बजार परिशुचक नेप्से आज १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा पुगेको छ । 

आज ३३० कम्पनीको ३ करोड ८ लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा खरिदबिक्री भए। नेप्से उच्च अंकले बढेपनि कारोबार रकम भने मंगलबारको तुलनामा कम हो। मंगलबार २३ अर्ब माथिको कारोबार भएको थियो। उच्च अंकले बढेको सेयर बजारमा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ। सानिमा बैंकको डिबेन्चर सेयर भने १० प्रतिशतले घट्यो । 

आज कारोबारमा आएका सबै सम्मुहको सुचक उकालो लागेको छ । अन्य समुहको सुचक सर्वाधिक ७.८९ प्रतिशतले बढ्यो भने फाइनान्स समुहको सुचक पनि ७ प्रतिशत बढीले उकालो लाग्यो । त्य्सैगरी, होटेल, हाइड्रोपावर र ट्रेडिङ समुहको उपसुचक ५ प्रतिशत बढीले उकालो लाग्यो भने डेभलपमेन्ट समुहको उपसुचक ४ प्रतिशत बढीले बढ्यो । इन्भेष्टमेन्ट, लाईफ इन्स्युरेन्स, म्यानुफ्याक्चरिङ्ग र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्दा बैंकिङ र माइक्रोफाइनान्स समुहको उपसुचक २ प्रतिशत बढीले बढ्दा म्युच्युअल फण्ड समुहको उपसुचक १ प्रतिशत बढीले बढ्यो । 

कारोबार रकमका आधारमा आज हिमालयन रीइन्स्युरेन्स लिमिटेड शिर्ष स्थानमा रह्यो, हिमालयन रीइन्स्युरेन्सको आज १ अर्ब ५३ करोड बढीको सेयर कारोबार भयो । त्यसैगरी, नेपाल फाइनान्स लिमिटेडको ६५ करोड, सानिमा माइ हाइड्रोपावरको ५५ करोड, शिवम् सिमेन्टको ४६ करोड र चिलिमे हाइड्रोपावरको ३५ करोड बढीको सेयर कारोबार भयो ।