काठमाडौं - पछिल्लो समय कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि बर्सेनि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको जानकारी दिनुभयो ।

कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्याङ्कानुसार कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/८० मा एक सय छ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०८०/८१ मा एक सय ६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाबाट दैनिक दुई हजारदेखि दुई हजार पाँच सय लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।