काठमाडौं - मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाना पकाउने एलपिजी ग्यास र हवाई इनधनको आयातमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।
आव २०७९/८० मा वीरगञ्ज नाका प्रयोगगरी रु ३३ अर्ब १३ करोड बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा रु ३० अर्बको दुई लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिनुभयो ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आवमा वीरगञ्ज नाकाबाट रु १७ अर्ब ३१ करोडको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर (केल) हवाई इन्धन आयात भएकामा गत आवमा रु १८ अर्ब २१ करोडको एक लाख ७३ हजार चार सय ८४ केल आयात भएको छ ।
सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रुपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताउनुभयो । वीरगञ्ज नाकाबाट आव २०७९/८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो ।
नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।


0 comment