काठमाडौं - आज सेयर बजार परिसूचक नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २.१९ प्रतिशतले बढेर ४९६.०३ विन्दुमा पुगेको छ।, 

आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा खरिद बिक्री भयो। योसँगै कारोबार रकमले आज नयाँ रेकर्ड कायम गरेको छ। यसअघी २०७८ साल साउन ३१ गते सर्वाधिक २१ अर्ब ५३ करोड मूल्य बराबरको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन मंगलबार १७ अर्बको सेयर कारोबार भएको थियो।

आज १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज ९४ करोड बढी मूल्यको सेयर कारोबार भएको छ। त्यसैगरी, माउन्टेन इनर्जी नेपालको ४१ करोड, शिवम् सिमेन्टको ४० करोड, नेपाल फाइनान्सको ३८ करोड र अपी पावरको ३७ करोड बढी मूल्यको सेयर कारोबार बराबरको सेयर कारोबार भयो ।

आज कारोबारमा आएका सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ।