काठमाडौं - साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा पुगेको छ।

बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको थियो। 

त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर २६९१.२१ विन्दुमा पुगेको थियो। 

दोस्रो सर्किटपछि सम्हालिएको सेयर बजारमा ३१८ कम्पनीको  ४ करोड ३ लाख  १४ हजार ५१७ कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँमा खरिद बिक्री भए।

आज सेयर बजारमा २२ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गणपति लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.३५ प्रतिशतले घट्यो।

३६ करोड बढी मूल्यको सेयर कारोबार गरी कुमारी बैंक शीर्ष स्थानमा रह्यो। यसैगरी एसआईसी एसिया बैंकले ३४ करोड, हिमालयन रिइन्स्योरेन्स र शिवम् सिमेन्टले ३२/३२ करोडको सेयर कारोबार गरे। हाथवे इन्भेष्टमेन्टको २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। 

आज माइक्रोफाइनान्सबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ९.८९ प्रतिशतले बढ्यो।