काठमाडौं - पछिल्लो सातादेखी निरन्तर उकालो लागेको शेयर बजार परिसुचक नेप्से आज भने २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा पुगेको छ। 

आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से घटेपनि आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भयो। बोटलर्स नेपाल (तराई) र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो। यसैगरी, चन्द्रगिरी हिल्सको ९.९७,समृद्धि फाइनान्सको ९.६५ र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.१७ प्रतिशतले बढ्यो। 

आज कारोबारमा आएका दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिए। फाइनान्स समूहको उपसूचक १ प्रतिशत बढीले बढ्यो भने होटल्स एन्ड टुरिजम समूहको उपसूचक सामान्य उकालो लाग्यो । ट्रेडिङ समुहको उपसुचक सर्वाधिक ३ प्रतिशत बढीले ओरालो लाग्दा बैंकिङ, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ्ग, माइक्रोफाइनान्स र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्यो । बाँकी समुहको उपसुचक भने सामान्य ओरालो लाग्यो । 

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। हिमालयन रिइन्स्योरेन्सको आज ३६ करोड बढीको सेयर कारोबार भयो। यसैगरी, शिवम् सिमेन्टको ३४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा अपर तामाकोशीको २९ करोड, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड र सानिमा जीआसी इन्स्योरेन्सको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।