काठमाडौं - अघिल्लो कारोबारको दिन गत शुक्रबार ५९.६८ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज पनि ६१.६१ अंकले बढेर २४८५.८४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४४९.६८    विन्दुमा पुगेको छ।

आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० रुपैयाँमा खरिदबिक्री भयो । 

आज कारोबारमा आएका सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ६.८० प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक ४ प्रतिशत बढीले बढेको छ। त्यसैगरी, बैंकिङ र अन्य समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्दा इन्भेष्टमेन्ट र म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक २ प्रतिशत बढीले बढ्यो । नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक सामान्य उकालो लाग्दा बाँकी समुहको उपसुचक १ प्रतिशत बढीले उकालो लाग्यो ।   

आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्षस्थानमा रह्यो। सोल्टी होटलको आज ३४ करोड १० लाख बढीको शेयर कारोबार भयो।