काठमाडौं - अघिल्लो दिन ५४ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज पनि ५९.६८ अंकले बढेर २४२४.३२ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.९० प्रतिशतले बढेर ४३६.१४ विन्दुमा पुगेको छ।
आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँमा खरिदबिक्री हुँदा पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत, उपकार लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइ कम्पनीको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी, कुमारी बैंक, प्रभु र रिभर फल्सको सेयर ९ प्रतिशत बढीले बढ्यो।
कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। नेपाल फाइनान्सको आज ४२ करोड बढी मूल्यमा कारोबार भयो। यसैगरी, अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड, नगदी ग्रुपको ३० करोड, साइन रेसुंगा डेभलपमेन्टको २७ करोड र कुमारी बैंकको २३ करोड बढीको सेयर कारोबार भयो।
आज कारोबारमा आएका दुई समूहको बाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। फाइनान्स समूहको उपसूचक १ प्रतिशत बढीले घट्यो भने हाइड्रोपावर समूहको उपसूचकमा सामान्य गिरावट आयो ।
बैंकिङ समूहको उपसूचक सर्वाधिक ६.२८ प्रतिशतले बढ्यो भने माइक्रोफाइनान्स समुहको उपसुचक २ प्रतिशत बढीले उकालो लाग्यो । इन्भेष्टमेन्ट, म्युच्युअल फण्ड र ट्रेडिङ समुहको उपसुचक सामान्य उकालो लाग्दा बाँकी समुहको उपसुचक सामान्य १ प्रतिशत बढीले उकालो लाग्यो ।


0 comment