काठमाडौं - अघिल्लो दिन १७.१८ अंकले घटेको सेयर बजार परिसूचक नेप्से आज ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४०९.५१ बिन्दुमा पुगेको छ।
विगतमा लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णु पौडेलले सोमबार पदभार ग्रहण गरेपछि लगानीकर्ताहरू उत्साहित देखिएका हुन्।
आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले बढेको सेयर बजारमा ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
सिन्धु् विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट, आँखु खोला जलविद्यु्त, मन्दाकिनी हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा आज नगदी ग्रुप शीर्षस्थानमा रह्यो। नगदी ग्रुपको आज २१ करोड बढीको सेयर कारोबार भयो।
आज म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। हाइड्रोपावर समूहको उपसूचक सर्वाधिक ५.४५ प्रतिशतले बढ्यो। यसैगरी डेभलपमेन्टको ४.९४, होटल्स एन्ड टुरिजमको ३.६३ र इन्भेस्टमेन्ट समूहको सूचक ३.०६ प्रतिशतले बढ्यो।


0 comment