राजनीतिले जब सिद्धान्त, आदर्श, मूल्य, मान्यता र जनताप्रतिको प्रतिबद्धतालाई अस्वीकार गर्दै अघि बढ्छ सबै पक्ष अस्तव्यस्त हुन्छ, अहिले देश यही अवस्थाबाट गुज्रिराखेको छ । व्यक्तिगत स्वार्थ सिद्ध गर्न राजनीतिलाई व्यापार बनाइएको छ । यसरी देश अघि बढ्दैन । नेपालको राजनीति विचित्र छ । अहिलेसम्म पनि राजनीतिक दल र तिनका नेताहरू मुलुकप्रति त्यति गम्भीर भएको देखिएनन् । यदि नेताहरू मुलुकप्रति गम्भीर हुन्थ्ये भने आज देश आर्थिक रूपमा यथास्थितिमा रहने थिएन । मुलुकले धेरै फड्को मारिसक्थ्यो । देशको माया छ भने नेताहरू मुलुकप्रति गम्भीर बन्नु पर्छ । यस प्रकारका गलत प्रवृत्तिलाई समाप्त गर्न जनता उठनुपर्ने हुन्छ । यदि देश बनाउने हो भने राजनीतिक दल र तिनका नेताहरू देशप्रति इमानदार हुन जरुरी छ । अहिले पहिलाजस्तो निष्ठाको राजनीति छैन । 

देशको भाग्य र भविष्य निर्माण गर्ने भनेको नै राजनीतिक दल र तिनका नेताहरूले हो । अरू आएर गर्ने होइन । सबैभन्दा पहिला नेतामा इमानदारी हुनुपर्छ । त्यसो भयो भने मात्र आश गर्ने ठाउँ हुन्छ । राजनीतिलाई सबैले सेवाभावले हेर्नुपर्छ । राजनीतिका नाममा कमाउने धन्दा चल्यो भने देश बर्बाद हुन्छ । यो कुरामा सबै सचेत बन्न जरुरी छ । राजनीतिमा गलत कार्य हुन थाल्यो भने जनताले बिश्वास गदैनन् । पछिल्लो समय राजनीतिप्रति आमजनताको वितृष्णा बढ्दो छ । अब राजनीतिक दल र तिनका नेताहरूले गम्भीर भएर सोच्नुपर्छ । मुलुकको विकास, सुशासन र समृद्धिको मार्ग अगाडि बढाउनु आजको आवश्यकता हो । यो तर्फ सबैको ध्यान जान जरुरी छ । 

मुलुक सबै हिसाबले कमजोर बन्दै गइरहेको अवस्था छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारी आमजनताको प्राथमिकताको विषय बन्नुपर्छ । राजनीतिक दल र तिनका नेताहरू यो विषयमा गम्भीर बन्नुपर्छ । आफ्नै स्वार्थ र अवसरका लागि नेताहरू दौडधुपमा छन् । यसरी मुलुक बन्दैन । गलत प्रवृत्तिले राजनीतिलाई विकृत र कमजोर बनाइदिएको छ । राजनीतिक दल र तिनका नेताको गलत संस्कार र भ्रष्ट प्रवृत्तिमा सुधार आउनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई बलियो बनाउन लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ । 

वर्तमान गठबन्धन सरकारसँग जनताका तमाम समस्या समाधान गर्ने र विकासका स्पष्ट योजना ल्याउने कुनै भिजन नै देखिएको छैन । उल्टो जनता मारमा पर्ने गरी महँगी बढेको बढै छ । बढ्दो महँगीका कारण जनता बिहान र बेलुकी के खाऊ भन्ने समस्याले सताइन थालेका छन् । सरकारले जनताको मन जित्ने गरी काम गर्न नसकेकै हो । सरकारले गतिका साथ काम गर्न नसक्दा जनता निराश छन् । यो सरकार तथा राजनीतिक दलका लागि अशुभ संकेत हो । यसमा उनीहरूले गम्भीरतापूर्वक सोच्नुपर्छ । जनताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ । सरकारको असफलताका कारण आमजनतामा निराशा उत्पन्न भएको छ । शासकमा नैतिकता इमानदारी र पारदर्शिता हुनुपर्छ । शासक र राजनीतिक दलका नेता भ्रष्ट हुनु हँुदैन ।