काठमाडौं – पदमचालको बैज्ञानिक नाम (ल्याटिन नाम) रुहेम अष्ट्रेल हो भने संस्कृतमा रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनिन्छ । पोलिगोनेसी परिवारमा पर्ने यो वनस्पतिलाई नेपालीमा ‘शंखत्र’ भनेर पनि चिनिन्छ ।
नेपालको ३,००० देखि ४,००० मि. सम्मको उचाईमा हिमाली भेगको फिरफिरे, ठिंग्रे वा गोब्रे सल्ला इत्यादि भएका जंगलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा विरुवा पाइन्छ । यो १ देखि २ मि. सम्म अग्लो हुन्छ । यसको जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ । बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित बास पनि आउँछ । स्वादभने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पल्हाई आएका लामा डाँठ भएका यसका पातहरु ३० से.मि. चौडा हुन्छन् ।
बिरुवाका माथिल्लो भागमा तल्ला पातहरुको दाँजोमा साना हुन्छन् । यसको फूलहरु साना र राता हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।
यसको बिरुवा काण्डका टुक्राहरुबाट अथवा बीउबाट उमारिन्छ । बिरुवाहरुलाई वसन्त ऋतुमा सारिन्छ । १.५ मि. दूरिमा रहेको खाल्टोमा बेस्सरी मल जल गरेपछि मात्र यो बिरुवा सार्ने कार्य हुन्छ ।
नेपालको निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः दोलखा, गोरखा, लमजुङ्ग, म्याग्दी, रुकुम, पर्वत, कालिकोट, दैलेख, जाजरकोट, दैलेख, जाजरकोट आदि ।
यसका जरा र जमिनमुनि रहने डाँठ शरद् ऋतुमा काटेर झिकिन्छ । ३ देखि १० बर्षका विरुवाहरुबाट यसको काण्ड आश्विन महिनातिर खनेर झिकिन्छ । यी लामा, मोटा जरा र काण्डलाई धोई सफा गारिन्छ । पातका लामा डाँठाहरु पनि संकलन गरिन्छ ।
संकलन गरिएको जरा र काण्डलाई स–साना गरी टुक्र्याइन्छ । ती टुक्राहरुलाई घाममा राम्रोसँग सुकाउनु पर्दछ । केही केही टुक्राहरुको बीचमा प्वाल पारी त्यसभित्र डोरी छिराई छहारीमा दुईवटा खम्बा वा रुखमा बाँधी सुकाउने पनि गरिन्छ । सुकिसकेका जडीबुटीहरुलाई टुक्र्याई बोरामा पोको पारी सुख्खा ठाउँमा राखिन्छ । पातका लामा डाँठहरु छहारीमा सुकाई चुल्ठी पारेर ओबानो ठाउँमा सुकाइन्छ ।
आयुर्बेदिय प्रणाली अनुसार यसको काण्ड र जरा जुलाफ, कब्जियत, तागत दिने र पखाला लाग्ने इत्यादिको औषधिमा प्रयोग गरिन्छ । सुन्निएको, मर्केको, भाँचिएको ठाउँमा पदमचालको गाना कुटेर गाईको गउँतमा मिसाई लगाउनेलाई फाईदा गर्दछ ।
यसलाई शाक्तिबर्धक पाचक, बायुशमन गर्ने इत्यादि औषधिमा पनि व्यवहार गरिन्छ । यिनका हरिया र सुकेका डाँठ, पात र फूल पनि अचार तथा तरकारीमा प्रयोग गरिन्छ ।
0 comment