काठमाडौं - पछील्लो तीन दिनमा भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु भएको छ।
भारतको उत्तर प्रदेश र बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको हो ।
गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो ।
उत्तर प्रदेशमा बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो । मृत्यु हुने सबै व्यक्ति केही न केही रोगबाट पीडित भएको र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको बताइएको छ ।
यसबाहेक उत्तर प्रदेशको बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएपछी कम्तीमा ४०० जनालाई भर्ना गरिएको जनाइएको छ।
बिरामी र कर्मचारीलाई गर्मीको जोखिमबाट जोगाउन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ ।
0 comment