काठमाडौं - संकटाविरुद्ध १–२ गोलको जितसँगै नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको आठौं मिनेटमा मोसेस ग्याबाहले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए। खराब लयबाट गुज्रिरहेको पुलिसविरुद्ध निशान खड्काले २३ औं मिनेटमा फ्रि–किकमार्फत उत्कृष्ट गोल गर्दै संकटालाई बरबरीमा फर्काएका थिए। तर, निर्धारित ९० मिनेटको खेल सकिन १२ मिनेट बाँकी रहँदा मोहम्मद आशिकले गोल गर्दै पुलिसको पक्षमा १–२ को जित सुनिश्चित गरे।

जितसँगै १७ खेलबाट १९ अंक जोडेको पुलिस लिग तालिकाको १२औं स्थानमा उक्लिएको छ। समान खेलबाट २० अंक जोडेको संकटा ११औं स्थानमा छ।

आजै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन्। 

खेलको १४औं मिनेटमा निरन्जन धामीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। हिमालयन शेर्पाका लागि ३६औं मिनेटमा अबायोनी फाकुनेले बराबरी गोल फर्काएका थिए।

बराबरीसँगै १७ खेलबाट २१ अंक जोडेको मनाङ सातौं स्थानमा उक्लिएको छ। समान खेलबाट २१ नै अंक जोडेको हिमालयन शेर्पा दशौं स्थानमा छ।

आजै भएको अर्को खेलमा न्युरोड टिमले एफसी खुमलटार विरुद्ध ३-२ को जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा पहिलो हाफमा दुई गोलले पछि परेको एनआरटीले दोस्रो हाफमा तीन गोल गर्दै खुमलटारलाई ३-२ ले पराजित गरेको हो ।

खुमलटारका लागि स्टेफन समिरले ३२औं र राजिव लोप्चनले ३९औं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

तर एनआरटीले दोस्रो हाफमा पुनरागमन गर्‍यो । ६२औं मिनेटमा विक्रम धिमाल र ६४औं मिनेटमा लालनुन्जामाले गोल गरेपछि एनआरटीले खेल बराबरी अवस्था पुर्‍यायो । ८४औं मिनेटमा निकोलस सर्ज सोङले गोल गर्दै एनआरटीलाई ३ अंक दिलाए । 

यस सिजन पाँचौ जित निकालेको एनआरटी १७ खेलबाट २१ अंक जोड्दै नवौँ स्थानमा उक्लेको छ । समान खेलबाट १७ अंक जोडेको खुमलटार अंक तालिकाको पुछारमा छ ।