काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लब फ्रेन्ड्स क्लबलाई ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। 

च्यासल रंगशालामा भएको खेलमा जावलाखेलले २५औं मिनेटमा राहुल राहुलको गोलसँगै अग्रता लिएको थियो। त्यसको ६ मिनेट नबित्दै कोटो मासोयाबीले हेडरमार्फत गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे। 

फ्रेन्ड्समाथि हाबी बनेको जावलाखेलले ६२औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्ने मौका पायो। फ्रेन्ड्सका एन्जल महर्जनले पेनाल्टी एरियामा बल ह्यान्ड गरेसँगै पाएको मौकाको सदुपयोग गर्दै मासोयाबीले टिमका लागि तेस्रो गोल गरे।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा श्यामबाबु क्याप्च्कीले फ्रेन्ड्सका लागि एक गोल फर्काएका थिए। त्यसपछि जावलाखेलका लागि फोडे फोफानाले इन्जुरी समयमा गोल गर्दै ४-१ को जित सुनिश्चित गरे। 

जितसँगै जावलाखेल १७ खेलबाट ३० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको छ। समान खेलबाट १९ अंक जोडेको फ्रेन्ड्स ११औं स्थानमा छ। 

खेलपछि जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले जावलाखेल रेलिगेसनबाट बचेको बताए।

‘आज खेल सबैले राम्रो खेल्यो। आज हामीले अब्दुलअजिज सेट पिसमा राम्रो भएकाले उसलाई प्रयोग गर्यौं,’ सुनीलले भने। अब्दुलअजिजले कर्नर र फ्रि–किकमार्फत दुई असिस्ट गरेका थिए। यसपाली हामी रेलिगेसनबाट बल्ल जोगियौं। किनभने, यसपाली लिगमा धेरै प्रतिस्पर्धा छ। कुन टिम कसरी कहाँ हुन्छ ? भन्ने अनुमान गर्न गाह्रो छ।’

प्रतिस्पर्धासँगै छोटो समयमा धेरै खेल हुँदा खेलाडीलाई आराम नपुगेको उनको गुनासो थियो। ‘खेलाडीलाई रेस्ट पुगेको थिएन, त्यसले गर्दा गाह्रो भइरहेको छ। घाइते खेलाडीलाई खेलाउनु परिरहेको छ,’ उनले भने, ‘रेलिगेसनबाट बचेपछि अब हाम्रो लक्ष्य अब शीर्ष चार हो। लिगमा अझै ९ खेल बाँकी भएकोले यो लय कायम राख्ने जावलाखेलको लक्ष्य हुने उनले सुनाए।

‘अस्तिका दुई खेल राम्रो भएको भए सजिलो हुन्थ्यो। अझै अगाडि कठिन खेल बाँकी छन्, सहभागी भइसकेपछि एउटा राम्रो पोजिसन लिने भन्ने लक्ष्य सबैको हुन्छ नै,’ उनले भने।