काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धानलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । 

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘पछिल्लो समय सरकार फेरि लडाकुलाई पैसा बाँड्ने भनेर उद्धत भइरहेको छ । अर्थतन्त्र यस्तो चौपट अवस्थामा छ । यस्तो बेलामा यो सरकार एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेको छ । माओवादी केन्द्रले सरकारबाट बलजफ्ति निर्णय गराउने काम गर्‍यो । १ लाख ५० हजार कार्यकर्तालाई दिने ५० हजार आफै लिने तयारी छ माओवादी केन्द्रको ।’

उनले भने,‘क्यान्टोनमेन्टमा नभएका मानिसको पैसा बुझिएको छ । राज्यको ढुकुटी छलछाम गरेर गोजिमा हाल्ने भनेको भ्रष्टाचार नै हो । जो सुकैले गरेको होस् । त्यो भ्रष्टाचारको बारेमा कोहि पनि बोल्न तयार छैनन् । राज्यको पैसा व्यक्ति वा संस्थाले कुम्ल्याउन मिल्छ ? तर,यी कुरा भएका छन् । अरबौंको घोटाला भएको छ । अख्तियारले होल्ड गरेर बसको छ । म अख्तियारलाई भन्न चाहन्छु,खुट्टा नकमाउनुहोस् । किन खुट्टा कमाएर बसेको छ ?’

शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भने आन्दोलनमा उत्रिन्छौं

अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन्। 

उनले भने,'कोही निर्दोषलाई फसाउने चेष्टा गरिनुहुँदैन। हामी दोषीलाई छोड्न खोजियो भने त्यसको विरोधमा पनि दृढताका साथ उभिन्छौं। आन्दोलनमा उत्रिन्छौं हामी । निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन रहदैन। निर्दोषलाई दोषी बनाउन खोजियो भने त्यो अपराध हामी हुन दिँदैनौं।'

उनले आफूले प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्दोष फस्न नहुने भन्दै ध्यानाकर्षण गराएको बताए ।  अध्यक्ष ओलीले नक्कली भुटानी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले अनुसन्धान गर्न दिनुपर्नेमा जोड दिए।

उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठप्रति लक्षित गर्दै ओलीले अनुसन्धान प्रकरणमा मन्त्री प्रधानमन्त्रीको कुनै भूमिका नहुने र उनीहरूको हातमा भए यो विषय अनुसन्धान नै नहुने बताए। उनले यो घटनामा निष्पक्ष छानबिन हुनुपर्ने बताए।

ओलीले भने,'टोपबहादुर रायमाझी र उनका छोरालाई पक्राउ पुर्जी जारी भएपछि खुब नगरा पिटियो। धेरै मानिसहरू चम्कीचम्की अभिव्यक्ति दिन थाले। तर, मैले त्‍यहीबेला शान्त भएर भने कोही दोषी उम्किनु हुँदैन कोही निर्दोषलाई फसाउने चेष्टा गरिनुदैन।'

उनले भने,' कानुनको आँखा छलेर व्यक्तिगत र गिरोहगत रुपमा क्रियाकलाप गर्ने र राज्यलाई गम्भीर नोक्सान पार्ने काम भइरहेको छ। रोक्न नसकिने गरी एउटा परिस्थित निर्माण भयो। अब जेसुकै होस् यो भ्रष्टाचारको काण्ड सतमा आइसकेको छ।'

उनले भ्रष्टाचारविरूद्ध बोल्नु नै अपराध हो कि जस्तो भइराखेको बताए। भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू दोषी भए/नभएको अदालतले छिनोफानो गर्ने बताए। 

ओलीले भने,'हाम्रा पार्टीका मानिसको नाम आएको छ। हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ। यदि दोषी छन् भने कारबाही हुन्छ। जोसुकै होस्। जबसम्म मानिस दोषी कारर हुँदैन। तबसम्म दोषी रहेछ कि आशंका मात्रै गर्न सकिन्छ। हामी अपराधी हौं भनेर करार गर्न वा दोषी नै छौं भनेर करार गर्न सकिदैन। त्यसको अदालती छानविन र प्रक्रिया नै बाँकी रहन्छ। '

खोक्रो अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारले ढाकछोप गर्न खोज्यो

नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । 

सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ। एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए । 

अर्थतन्त्र सुदृढ हुने दिशातिर मुलुक गएको भनेर सरकारले भ्रम सिर्जना गरेको ओलीको भनाइ छ । उनले वर्तमान सरकारले राज्यको ढुकुटीको दोहन गरेको समेत बताए ।