काठमाडौं  - नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान र लोकतान्त्रिक मूल्यको मार्गदर्शनमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित २७ औँ यदु स्मृति दिवस तथा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा पौडेलले वर्तमान सरकार संविधान र लोकतान्त्रिक मूल्यमान्यता विपरीत अघि बढ्न खाजेको भन्दै संवैधानिक मार्गदर्शन अनुसार अघि बढ्न सुझाव दिए।

उनले ट्रेड युनियन अधिकार र विद्यार्थीहरूको संगठित हुन पाउने अधिकारलाई नजरअन्दाज गर्ने खालका विषयमा एमाले ध्यान गएको समेत बताए । अहिले अध्यादेशको सिलसिला सुरु भएको भन्दै पौडेलले संसदबाट कानुन निर्माण गर्ने बाटो तर्फ अघि बढ्न समेत सरकारलाई सुझाव दिए ।

उनले नेपालमा अहिले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का व्यहोर्नु परेको उल्लेख गर्दै आफ्ना भूलत्रुटिहरू स्वीकार गर्दै त्यसलाई सच्चाउदै आन्दोलन पुनर्गठन गरिने धारणा राखे । नेपालको कम्युनिस्ट आन्दोलन नयाँ शिरमा अगाडि बढाउँदै एमालेलाई लोकतान्त्रिक, क्रान्तिकारी र देशभक्त शक्तिको रुपमा स्थापित गर्ने उनको भनाइ छ ।

कार्यक्रममा २४ औँ यदु स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।