काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रेस सेवाले युक्रेनले क्रेमलिनमा दुईवटा ड्रोन प्रयोग गरी राष्ट्रपतिको हत्या गर्ने प्रयास गरेको दाबी गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण भेटिएको बताएका छन्।

प्रवक्ता पेस्कोभले भने, 'अमेरिकाले यो बुझ्नुपर्छ कि रुस आतङ्कवादी हमलामा आफ्नो सहभागिता बारे सचेत छ। द्वन्द्वमा वाशिङ्गटनको यस्तो प्रत्यक्ष सहभागिता वास्तवमा कत्तिको खतरनाक छ भनेर बुझ्नु अझ महत्त्वपूर्ण छ।'

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसको दाबी गलत भएको बताएका छन्। उनले स्थानीय सञ्चारमाध्यमलाई आक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नभएको बताएका छन्। किर्बीले युक्रेनले आफ्नो सीमाबाहिर गरेको आक्रमणलाई वासिङ्टनले समर्थन नगर्ने बताएका थिए। 
 
पुटिनका प्रेस सचिव पेस्कोभले यस्ता आक्रमणबारे निर्णय कीएभमा नभई वासिङ्टनमा गरिने आरोप लगाए।  वासिङ्टनले जे भनेको छ कीएभले त्यही मात्र गर्ने उल्लेख गरे। 

युक्रेनमा एक वर्षभन्दा लामो आक्रमणका क्रममा मस्कोले किभले वासिङ्टनबाट आदेश लिइरहेको बताउँदै आएको छ । पश्चिमा मुलुकले छद्म रूपमा रुसविरुद्ध युद्धको नेतृत्व गरिरहेको पनि रुसको आरोप छ।