काठमाडौं - सांसद खिमलाल देवकोटाले ५ सय र १ हजारका नोट छाप्न बन्द गर्न प्रस्ताव गरेका छन्। 

बुधबार राष्ट्रियसभा बैठकमा 'सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने' विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद देवकोटाले भने,'बजारमा लगानी गर्नुपर्ने रकम घुसिया कर्मचारी, घुसिया नेता र दलाल बिचौलियाले बोराका बोरा लुकाउने गरेको भन्ने सुनिन्छ। मेरो अनुरोध छ रु ५ सय र रु १ हजारका नोट छाप्न बन्द गरियोस्। बजारबाट सबै नोट खिचियोस्। यसले केही हदसम्म करप्सन कन्ट्रोलमा सहयोग पुर्‍याउनेछ।'

उनले राष्ट्रिय गौरवका आयोजनाको भौतिक वित्तीय प्रगति निराशजनक रहेको बताए। सांसद देवकोटाले उत्पादनमुखीभन्दा पनि वितरणमुखी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा होडबाजी चलेको भन्दै आपत्ती जनाए। यो स्थिती प्रदेश र स्थानीय तहमा देखिएको उनको भनाइ छ। 

प्रदेश र स्‍थानीय तहलाई सरकारको अनुभूति हुनेगरी काम गर्ने वातावरण बनाउन नसकिएको बताए। निजामती सेवा ऐन जारी नहुँदा सिंगो प्रशासनिक संयन्त्र भद्रगोल र लथालिंग भएको उनको भनाइ छ।