काठमाडौं - धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा हाइड्रोपावरका सामग्री बोकेको ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

बिराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.१–०२–००१ क ५३६३ नम्बरको ट्रक ब्रेक फेल भइ सडकबाट चिप्लिएर नालातर्फ भित्तामा ठोक्किँदा आगलागी भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा भोजपुरका करिब ३० वर्षीय चालक विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको छ भने सहचालक तेह्रथुम म्याङ्लुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव संगौला सकुशल रहेका छन्।

नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो राति ९:४० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।