काठमाडौं - नेकपा एमालेले उपनिर्वाचनको लागि तनहुँ क्षेत्र नं १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नं २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
तर, एमालेको सचिवालय बैठकले बारा क्षेत्र नं २ का लागि निर्णय गर्न सकेको छैन । बारा क्षेत्र नं २ का लागि जिल्ला कमिटीले पूर्वमन्त्रीसमेत रहेका पुरुषोत्तम पौडेल, राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ।
यसैबिच एमालेले नेता भीम रावलसँग संवाद गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा लेखराज भट्ट र कर्ण थापा सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ। रावलले पार्टीको विधि विधान विपरीत कार्य गरेको भन्दै संवादपछि मात्रै आवश्यक जिम्मेवारी दिने एमालेको तयारी छ।
हिजै मात्र धनगढीमा आयोजित कार्यक्रममा उपाध्यक्ष पौडेलले नेता रावललाई सच्चिन आग्रह गरेका थिए। उनले अब रावल नसच्चिए पार्टीले उचित निर्णय लिने पनि बताएका थिए।
पार्टी अध्यक्ष केपी ओलीसँग असन्तुष्ट रावलले आफूमाथि अझै अन्याय गरे नयाँ निर्णय लिने चुनौती दिँदै आएका छन्। रावलले आफूसँग अझै सहने क्षमता रहेको बताउँदै अति गरे सोच्नुपर्ने अवस्था आउने बताउँदै आएका छन्।
0 comment