काठमाडौं - सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई व्यवस्थित,पारदर्शी र जवाफदेही बनाउन आन्तरिक निर्देशन जारी गरेको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार आन्तरिक निर्देशन जारी गर्दै संघीय सांसदहरूको स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी  स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएका हुन्। नियुक्ति योग्यता,क्षमता र निष्पक्षताका आधारमा गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्वकीय सचिवका लागि सम्बन्धित क्षेत्रमा आवश्यक शैक्षिक योग्यता,व्यावसायिक दक्षता तथा अनुसन्धान क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने निर्देशनमा उल्लेख छ। साथै महिला, सीमान्तकृत समुदाय र पछाडि परेका वर्गका योग्य उम्मेदवारको सहभागितालाई पनि प्रोत्साहन गरिएको छ।

पार्टीले नियुक्तिमा स्वार्थ बाझिने अवस्था हुन नहुने स्पष्ट गर्दै सरकारी वा गैरसरकारी संस्थाबाट दोहोरो सुविधा लिने वा अन्य कुनै स्वार्थसँग जोडिएका व्यक्तिलाई नियुक्त नगर्न सांसदहरूलाई निर्देशन दिएको छ।

त्यस्तै,स्वकीय सचिव छनोटका लागि सम्भव भएसम्म खुला र प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउनुपर्ने तथा सम्बन्धित सांसदले योग्य उम्मेदवार छनोट गरेपछि पार्टीको स्वीकृतिपछि मात्र नियुक्ति प्रक्रिया अघि बढ्ने व्यवस्था गरिएको छ।

निर्देशनमा नियुक्तिसम्बन्धी कुनै विवाद,उजुरी वा प्रश्न उत्पन्न भएमा आवश्यक छानबिन गरी अन्तिम निर्णय गर्ने अधिकार पार्टीमै रहने उल्लेख गरिएको छ।रास्वपाले यो व्यवस्था सांसदहरूको सचिवालयलाई थप व्यावसायिक,पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले लागू गरिएको जनाएको छ।

त्यस्तै,सबै संघीय सांसदले स्वकीय सचिवको पदपूर्तिका लागि एउटै साझा,आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ नियुक्तिका लागि सार्वजनिक आह्वान गर्दा सोही ढाँचाको अनिवार्य प्रयोग गर्न पार्टीले निर्देशन दिएको छ।