काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्।
सोमबार भएको मतदान प्रक्रियामा २६२ सांसदको उपस्थित थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो। मतदानमा प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो। मत दिन्नमा एक मत खसेको थियो।
प्रधानमन्त्री प्रचण्डले यसअघि २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्डले २६८ मत पाएका थिए भने दुई जनाले विपक्षमा मत हालेका थिए। प्रचण्ड १० पुसमा १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
एमालेसँग गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले कांग्रेससहित दस दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका हुन्। दलहरूले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
प्रधानमन्त्रीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन रह्यो।
भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री
विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्डले भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताए।
'भोलिबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। दुई चार दिनभित्रै गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर सरकारलाई पूर्णता दिलाउँछौं,' उनले भने।
उनले सतप्रतिशत मत पाउने आशा गरेको भए पनि १७२ पर्याप्त रहेको बताए। 'जति आयो त्यो पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। विकास निर्माणका काम अगाडि बढ्छ,' उनले भने।
उनले भारत भ्रमणबारे अहिल्यै टुंगो नलागेको बताए। सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'भारत भ्रमणको टुंगो लागेको छैन। यो महिनाको अन्त्य वा अर्को महिनाको सुरुमा हुनसक्छ।'
भारतीय टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले पहिलो वैदेशिक भ्रमण भारतबाट हुने बताएका थिए। प्रचण्डले यसअघि कतार भ्रमण र चीन भ्रमण स्थगित गरेका छन्। यसअघि उनी चीनमा हुने बोआओ फोरममा सहभागी हुने मिति तय गरेका थिए।
0 comment