काठमाडौं - प्रदेश १ को नाम ‘कोशी’ राखिएको छ। पहिलो पाँच वर्षे कार्यकाल अंकगणितीय पहिचान बोकेर बिताएको प्रदेश १ को प्रदेशसभाको बुधबार बसेको बैठकबाट प्रदेश १ को नाम ‘कोशी’ राखिएको हो।
प्रदेशसभामा कोशी नाममाथि भएको मतविभाजनमा सहभागी ८६ जना सांसदमध्ये ८२ जनाले कोशी नामको पक्षमा मत दिएका छन्।
प्राप्त मतपरिणामका आधारमा सभामुख बाबुराम गौतमले कोशी नामको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे। सभामुख गौतमका अनुसार कोशी नामको विपक्षमा ४ मत खसेको छ। ६ जना सांसद भने अनुपस्थित रहेको उनले जानकारी दिए।
नामकरणका लागि प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘कोशी’ नामको प्रस्ताव बहुमतले स्वीकृत भएपछि सो नाम उपरको छलफल सुरु भएको थियो। नामकरणका लागि प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले ‘कोशी’ नामको प्रस्ताव दर्ता गराएका थिए। छलफलमा सांसदहरुले कोशीले विभिन्न जातिजाति, धर्म-संस्कृति, भौगोलिक विविधता र ऐतिहासिकता लगायतका विषयलाई समेटेको बताए। प्रदेश १ का लागि कोशी नाम नै उपयुक्त रहेको भनीहरुले स्पष्ट पारे।
प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव पनि दर्ता गराइएको थियो। तर, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको उक्त नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। उक्त प्रस्ताव अस्वीकृत भएसँगै प्रदेशसभामा मतविभाजनको प्रक्रिया सुरु भएको थियो।
0 comment