हिमालय ओली,


पृथ्वीको सतहबाट १५ देखि ५० किलोमिटरको उचाईमा रहेको उच्च वायुमण्डल (stratosphere) मा हाम्रो ओछ्यानमा बिछ्याईने तन्ना जस्तो पातलो ओजोनको तह रहेको हुन्छ जसलाई ओजोन तह भनिन्छ । ओजोन एक उपयोगी ग्याँस हो र यसले पृथ्वी अनि पृथ्वीबासीलाई सूर्यबाट उत्सर्जन हुने हानिकारक विकरणबाट जोगाउने काम गर्दछ । अर्थात् यसले सूर्यको किरणमा हुने हानिकारक परावैजनिक विकरणलाई पृथ्वीमा आउन दिँदैन । त्यसो त तल्लो वायुमण्डल (Troposphere) मा पनि ओजोन कूल परिमाणको १० प्रतिशत जति रहेको हुन्छ र यो प्रदूषणको रुपमा रहने भएको हुँदा हानिकारक नै हुन्छ । 


ओजोन तह विनाश मूलतः प्राकृतिक कारणसंग सम्बन्धीत समस्या हो । तर मानवीय कृयाकलापका कतिपय कारणहरुबाट पनि ओजोन तहलाई क्षति पुर्याउने कार्य भइरहेको छ । खासगरी ल्कोरोल्फोरोकार्बन (CFCs), हालोन, मिथाइल क्लोरोफर्म, कार्बन टेट्राक्लोराइड र मिथाइल ब्रोमाइड जस्ता रसायनहरुले ओजोन तहको विनास गर्ने हुंदा यिनीहरुलाई ओजोन तहको विनाशक (Ozone Depleting Substances or ODS) भनिन्छ । यी ओजोन विनाशक रासायनिक पदार्थहरु उच्च वायुमण्डलमा पुगी धेरै वर्ष सम्म रहने हुन्छ । यिनमा भएका क्लोरिन र ब्रोमिनले ओजोनसंग प्रतिकृया गरेर ओजोन तहको विनाश गर्ने कार्य निरन्तर रुपमा गरिरहेको हुन्छ । 


ओजोन तहको विनाशले पृथ्वीमा पुग्ने परावैजनिक विकीरणमा बृद्धि हुन पुग्छ । पृथ्वीको वायुमण्डलमा ओजोन तह एक प्रतिशतले कम हुंदा पृथ्वीमा पुग्ने परावैजनिक विकीरण एक प्रतिशत भन्दा बढी बृद्धि हुने गर्दछ । यसरी बढी मात्रामा परावैजनिक विकीरण पृथ्वीको सतहमा पुगेको खण्डमा मानिस लगायत स्थलचर–जलचर प्राणी तथा बोटविरुवाहरुलाई समेत हानी पुर्याउने कुरा प्रमाणसिद्ध भइसकेको छ । बढी परावैजनिक विकिरणले मानिस लगायत अन्य जीवजन्तुलाई छालाको क्यान्सर हुने सम्भावना बढ्ने, छाला छिटो चाउरी पर्ने, आंखाको संक्रमण र मोतीया विन्दूको रोगमा वृद्धि हुनाको साथै अन्य रोगहरुसँग लड्ने क्षमता पनि कम गराउँछ । विशेषज्ञहरुका अनुसार यसले विरुवाहरुको पातको आकार सानो हुने र अंकुरणको समय पनि लम्बिने हुँदा उब्जनी कम हुन जान्छ । यसका साथै बढी परावैजनिक विकीरणले फाइटोप्लांकेट्सलाई विनाश गर्ने हुंदा माछा र माछाजस्ता अन्य जलचर प्राणीहरुलाई समेत विनाश पार्ने गर्दछ । यसैगरी बढी परावैजनिक विकीरणबाट विभिन्न लत्ता कपडा र अन्य सामानहरुको रंग उड्ने र प्लास्टिक रबर जस्ता सामानहरु छिट्टै नष्ट हुन पुग्छन् । 


ओजोन तह विनास गर्ने एउटा प्रमुख रसायन हो सीएफसी अर्थात् क्लोरोल्फोराकार्वन । क्लोराल्फोरोकार्बन क्लोरिन, ल्फोरिन र कार्वनले बनेका तरल वा ग्यांस हुन् । यी रसायनहरु प्राकृतिक नभई मानव निर्मित हुन् र यिनीहरु सन् १९२८ मा आएर आविष्कार गरिएका हुन् । CFC, HCFC जस्ता रसायनहरुको प्रयोग रेफ्रिजेरेटर, डीप फ्रिजर, वाटर कुलर र एअर कण्डीशनरहरुमा गरिन्छ । साथै यी रसायनहरु फोम उत्पादन प्रक्रियामा ब्लोइंग एजेन्टका रुपमा र इलेक्ट्रोनिक सर्किट वोर्डहरुको सफाई जस्ता कार्यहरुमा प्रयोग गरिन्छ । यसको अलावा अत्तर, एअर फ्रेशनर, किटनाशक औषधिहरु लगायत पेन्टीङ्ग स्प्रे आदि जस्ता कार्यहरुमा यिनीहरुको प्रयोग हुन्छ । त्यस्तै अग्नी नियन्त्रकमा हालोन नामक रसायनको प्रयोग हुन्छ भने यसमा क्लोरिन, ल्फोरिन र कार्वनका साथै ब्रोमिन समेत प्रयोग हुन्छ । मिथाइल ब्रोमाइड खाद्यान्न सुरक्षित राख्ने कार्यमा प्रयोग गरिन्छ । कार्बन टेट्राक्लोराइड र मिथाइल क्लोरोफर्म विभिन्न धातुजन्य सामानहरुको सफाई र चमक ल्याउन प्रयोग गरिन्छ ।  


पृथ्वीमा ओजोन तहको विनाश भइरहेको र यसबाट मानव लगायत अन्य जीवजन्तुहरु समेत नष्ट हुन पुग्ने हुंदा ओजोन तहको विनाश कसरी रोक्ने भन्ने सम्बन्धमा संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रम (यूएनइपी) को अग्रसरतामा चरणबद्ध रुपमा छलफल भई सन् १९८५ को मार्च महिनामा अष्ट्रियाको भियानामा भएको सम्मेलनमा ओजोन तहको विनाश गर्ने रसायनहरुबारे अनुसन्धान, सूचना आदान प्रदान आदिमा सहयोग गर्ने निचोड निकालिएको थियो । त्यसपछि सन् १९८७ को सेप्टेम्बर १६ तारिखका दिन ओजोन तह विनाशक रसायनहरु नियन्त्रण गर्ने सम्बन्धमा मन्ट्रीयल अभिसन्धीको रुपमा प्रादूर्भाव भयो । सन् १९८९ देखि लागू भएको उक्त अभिसन्धी ओजोन विनाशक रसायनहरु मध्ये मुख्य रसायन मानिएको सीएफसी को उत्पादन बन्द गर्ने, विकसित मुलुकहरुले यसको प्रयोग बन्द गर्ने र विकसित मुलुकहरुकै योगदानमा बहुपक्षीय कोषको स्थापना गर्ने अनि कोष र प्रविधि हस्तान्तरणबाट विकासोन्मुख मुलुकहरुमा ओजोन तह विनाशक रसायनहरु विस्थापन गर्ने आदि जस्ता कार्यक्रमहरु संचालन गर्ने व्यवस्था गरियो र सोही व्यवस्था अनुरुप विकसित मुलुकहरुले आगामी सन् २०१५ सम्ममा मिथाइल क्लोरोफर्म र सन् २०४० सम्ममा HCFC को प्रयोग बन्द गर्नुपर्ने प्रावधान राखिएको छ । 


नेपालले सन् १९९४ को जुलाई ७ तारिखका दिन ओजोन तह संरक्षण सम्बन्धी मन्ट्रियल अभिसन्धीमा अनुमोदन गर्यो र सोही महिनाको अक्टुबर महिनाबाट यो अभिसन्धीलाई लागू गरिसकिएको छ । उक्त अभिसन्धी अनुसार विकासोन्मुख राष्ट्रको हैसियतले नेपालले क्लोरोल्फोरो कार्बन (सीएफसी) लगायत अन्य कतिपय ओजोन तह विनाशक रसायनहरुको प्रयोग बन्द पनि गरिसकेको छ ।